तिम्रो आँखाको शहर
चन्द्रमाले सायद
तिमीबाटै उज्यालो लियो होला,
फूलहरूले पनि
तिमीबाटै सुवास सापट मागेका होलान् ।
मैले भगवानसँग
जति पनि वर मागेँ,
ती सबै अन्ततः
तिम्रै नाममा आएर रोकिए ।
मैले जीवनभर
जति यात्राहरू दौडिएँ,
ती सबै बाटाहरू
अन्ततः तिमीमै आएर टुङ्गिए ।
तिमीसँग बिताएका प्रत्येक पल
मेरो लागि यस्तो आनन्द बने,
जुन स्वर्गभन्दा पनि
अझ सुन्दर, अझ पवित्र लाग्यो ।
तिम्रो आँखाको शहरले
मलाई हरेक दिन मौन निम्तो पठाइरहन्छ ।
म दूरीको मरुभूमिमा हराइरहे पनि,
तिम्रो सम्झनाको शीतल स्पर्शले
मेरो हृदयलाई निरन्तर छुन्छ ।
कहिलेकाहीँ लाग्छ—
के साँच्चै तिमी पनि
यस्तै बेचैनीमा हराइरहेकी छौ ?
के तिम्रो मनको कुनै गहिरो कुनामा
मेरो नाम अझै धड्किरहेको छ ?
रातको निस्तब्धतामा
चन्द्रमा मेरो झ्यालछेउ आइपुग्छ,
र उसले तिम्रो कथा सुनाउँदै
मेरो एकान्तलाई उज्यालोले भरिदिन्छ ।
हावाका प्रत्येक हल्का बहावसँग
तिम्रो सुगन्ध मिसिएर आउँछ,
मानौँ प्रकृतिले नै
तिम्रो उपस्थितिको खबर बोकेर ल्याइरहेको हो ।
मेरो हरेक गीत
तिम्रो नामबाट आरम्भ हुन्छ,
र प्रत्येक शब्दमा
तिम्रै अनुभूतिको संगीत बगिरहन्छ ।
तिम्रो आँखाको त्यो अनन्त शहरले
मलाई जीवनका सबै पीडाहरू बिर्सन सिकाएको छ,
तिम्रो एउटा मधुर मुस्कानले
मेरो थाकेको आत्मालाई
फेरि बाँच्न, फेरि सपनाहरू देख्न सिकाएको छ ।
तिम्रो काखमा आउँदा
मेरा सबै डरहरू हराएर जान्छन्,
जस्तो आँधीपछि
आकाशले फेरि शान्ति भेटेझैँ ।
तिम्रो साथ यस्तो लाग्छ—
सदियौँको दूरी पनि
केवल एक क्षणझैँ बितेर जान्छ ।
कहिल्यै मैले सोचेको थिएँ—
चन्द्रमालाई समातूँ,
ताराहरूसँग रातभर कुरा गरूँ,
आकाशका रहस्यहरू आफ्ना सपनामा सजाऊँ ।
तर जब तिमी मेरो जीवनमा आयौ,
ती सबै चाहनाहरू फिका भए,
किनकि तिम्रो आँखाभित्र मैले
पूरै ब्रह्माण्ड भेटेँ ।
अब मलाई
न कुनै यात्रा चाहिएको छ,
न कुनै तीर्थको खोजी बाँकी छ ।
तिम्रो अनुहार नै मेरो बिहान हो,
तिम्रो आँखा मेरो शान्ति,
र तिम्रो मुस्कान मेरो प्रार्थना बनेको छ ।
तिमी नै मेरो लक्ष्य हौ,
तिमी नै मेरो बाटो,
र तिमी नै त्यो पवित्र मन्दिर
जहाँ मेरो आत्माले
प्रेमको साँचो भगवान भेटेको छ ।
तिमी टाढा भएर पनि
मेरो प्रत्येक सासमा जीवित छौ,
मेरो प्रत्येक धड्कनमा गुन्जिरहेकी छौ ।
सायद प्रेम यही हो—
जहाँ दूरीले शरीर अलग पार्छ,
तर आत्माहरूलाई अझ गहिरो रूपमा जोडिरहन्छ ।
महेन्द्र
पौडेल
डेनमार्क जुन ६, २०२६, राती २३ः१४
हर्लेभ,







