w

twitter facebook google plus linkedin rss feed email

Wednesday, June 1, 2016

[कथा] भड्केको मन

-महेन्द्र पौडेल 
ऊ अरुणाको काखमा बस्यो, फटाफट उनको छातीतिर हात लगायो र स्तन निकालेर चुस्न थाल्यो । उसको ध्यान केवल चुस्नमै मस्त छ उनी भने एकतमासले टोलाइन र एउटा ममतामयी नारी र आफ्ना  मातृत्वको कर्तव्य पूरा गरेजस्तै अनि सन्तोषको श्वास फेरीन । वात्साल्य र ममतामयीबाट दुवै चरम भए । अरुणा अर्थात मेरी श्रीमती र उनको र मेरो सानो छोरो । 

हाम्रो सम्बन्ध विच्छेदको प्रसङ्ग चल्दै थियो, मैले उनलाई कालीमाटीको घर दिने प्रस्ताव गरेँ उनले स्वीकारिन र हामी माइती नेपालको प्राङ्गगणमा भेला भएका थियौं । त्यसो त मेरा तीनबटा घर छदैं थिए, त्यो सबै मैले युरोप आएपछि मात्र बनाउन सकेको हुँ ।  युरोपमा करिव १० वर्ष विताइसके र त्यसैको उपज मैले तीनवटा घर बनाए । बिगत ५ वर्षदेखि नेपाल आउने जाने क्रम चलीरह्यो यसैबीचमा अरुणा र मेरोबीच अर्को छोरा जन्मन पुगेको थियो । उही उनको काखमा बस्ने छोरो । 

मैले उनलाई युरोप बोलाउन प्रयत्न गरेँ उनले इन्कार गरीन र भनिन् अव दुइवर्ष पर्खनुहोस् जेठोले प्रवेशिका दिएपछि आउँला नत्र उसको पढाइ बिग्रन्छ ।  छोराहरुको पढाई र घर परिवारको चिन्ताले अरुणालाई व्यस्त बनाइरह्यो भने यता मलाई युरोपमा कामको चक्कर सनिवार र आइतवारको छुट्टीले एकतमासले भारी बनाउथ्यो । 
यस्तैमा एकदिन काठमाडौंबाट मेरो फेसबुकको मेसेजबक्समा एउटा मेसेज आयो ‘हयाप्पी भेलेन्टाइन डे’ अचम्म, मेरो श्रीमतीलाई भेलेन्टाइन पनि याद छैन या भएर पनि वास्ता नगरेकी । तर कसैको ह्याप्पी भेलेन्टाइन डे भन्ने शब्दले मलाई भने उत्सुक्ता जगायो । प्रायजसो विहानको ३ वजे म ल्यापटप ‘अन’ गरेर बस्दथे, तर आज उनै ह्याप्पी भेलेन्टाइनवाली अर्थात उनको नाम हो श्रीजिता अनलाईनमा आएर ‘हाय’ भनिन्, मैलेपनि प्रतिउत्तर दिएँ । यहाँवाट बल्ल हाम्रो कुराकानीको सुरुवात हुँदै हामी स्काइपीमा गफिदैं गयौं । 
समयक्रममा उनी र म यसरी नजिकिदैं गयौं कि मलाई विगतनै याद नहुन थाल्यो । एउटा चालिस काटेको पुरुष परम्परागत समाजमा हुर्केर खुल्लासमाजमा चहर्न थालेको म ।  एउटा २२ वर्षिय युवती आजको आधुनिक खुल्ला समाजमा हुर्कन थालेकी श्रीजिता अर्थात हामीबिच केही रहेन, खुलेर यौनका कुरा हुन्थे । उनी खित्का छाडेर हास्थीन उनको हाँसोमा पनि मैले यौन नै देख्दथे । उनी भन्थिन् ‘तपाईलाई सोधु? मैले हुन्छ भन्थे, उनी शरीरका प्रत्येक अंग अंगलाई नेदरल्याण्ड भाषामा के भन्छ नी उनी यस्तै यस्तै सोध्थिन । कहिलेकाही भने मेरा संवेदनशिल अंगका बारेमा सोध्थिन् मलाई कता कता अनौठो हुन्थ्यो । फेरी मैले सोध्थे, ‘मन लाग्दैन’ उनी भन्थिन– ‘छि कस्तो लाज नभाको’ फेरी थप्थिन ‘लागेर के गर्नु तपाई त्यहाँ म यहाँ’ यस्तै यस्तै कुराले मेरा दिन र रातहरु सेकेण्डका रफतारमा बित्न थाले । 

हुनत एकदशक पछिको यो रोमान्चकले भिन्नता पाउँछु । ममा परिवर्तन आएको छ । प्रविधिको यान्त्रिक जीवनशैलीबाट वाक्क दिक्क भएको छु । आँखाहरु झकाए भने पानीको साटो कोक पिइदिन्छु । भोकलाग्यो भने पिजा अर्डर गरिदिन्छु । पिउन मन लाग्यो भने घरै नजिक अल्दी भन्ने मार्केट छ कारापिल्स पिइदिन्छु । बोर लाग्यो भने कम्प्युटर अन गरिदिन्छु, मोवाइल थिचिदिन्छु, पुराना नयाँ विवाहित अविवाहित सबैसँग गफिन्छु मेरो दिनचर्या यस्तो छ । म शहरिया भएको छु यो मेरो वाध्यता हो । 

मानौ कति स्वभाविक छ मलाई कसैले अनायस मन पराइदिएको छ । हुनत मानिसले एउटा संयोगले बिबाह गर्दछ र पनि उसको मनहरु कतैै कतै बिचरण गरिरहेकै हुन्छ । यो माया गर्ने हृदय बुढो नहुने रहेछ । यो हृदयमा भगवानले माया पल पल राखिदिए, जसले गर्दा यो बुढो हृदयको तिर्खा नमेटिने रहेछ । भलै म धोखेवाज हुँला, भलै म चरित्रहिन ठहरउँला, तर मेरी भ्यालेन्टाइनवाली श्रीजिताको लागि म एउटा राम्रो पुरुष हुने प्रयास गरुला भन्ने  दृढ अठोट मनभित्र दरिन्छ  । र सोच्छु कतिखेर नगरपालीकाको काम सकेर नेपाल जाउँला मलाइ आतुर भइसकेको थियो ।  

तरपनि अरुणालाई नसम्झेको त होइन । उनी दुइटा छोराको स्याहार सुसारमै मग्न छिन् । भ्यालेन्टाइनवाली भेटेपछि अरुणाप्रति आदेश र अर्डर हुनथाल्यो । म परिवर्तन भएँ रे अरुणा भन्थीन् । अब यी सम्बन्धहरुमा पुर्णविराम लाग्न थालीसकेको थियो । अव हामी भौतीक मात्र होइन मानसिकरुपले पनि भिन्न भइसकेका थियौ । 
जुन र जुलाई पनि आइसकेको थियो, यी दुइमहिना मेरा लागि छुट्ीका दिन थिए । यही मौका पारेर म नेपाल उत्रिसकेर सिधै माइती नेपाल पुगेको थिएँ । त्यही पहिलो पल्ट कान्छो छोरोले आमाको दुध चुसेको देखेको थिएँ, 

माइती नेपालमा एउटा ट्याक्सी आउँछ, ट्याक्सीबाट सरासर श्रीजिता उत्रेर मलाई पप्पी गर्छिन र भन्छिन फाइल तयार गर्नुभयो ? मैले टेवलतिर देखाएँ त्यहाँ एकजना अधिवक्ता बसीरहेका थिए, उनले फाइल म तिर देखाउँदै पेन टकारे । मैले त्यो फाइललाई अरुणातर्फ बढाएँ । अरुणाले भनिन् ‘कलम पनि दिनुहोसन्’  मैले कलम अरुणातिर बढाए, उनको हात देखेँ मैले, उनले हस्ताक्षर गरिन् र मैले पनि । यसरी हाम्रो सम्बन्ध विच्छेदको प्रक्रिया अदालतसम्म पुगेर सकियो । 

करिव दुइमहिनाको बसाइक्रममा धेरै ठाउँ घुमे, कहिले गोदावरी त कहिले नगरकोट, मेरी भ्यालेन्टाइनवाली र म, तर मलाई कता कता एक्लो एक्लो महसुस पनि भइरह्यो, उनको कुराहरु सुन्दै गएँ । उनका सपनाहरु सुन्दै गएँ । उनको लाउँ लाउँ खाउँ खाउँ उमेर उनको रोमान्चक र मदहोस उन्माद जवानीले मलाई पगालीरहेन मात्र बगाई रह्यो, म बगीरहे, उनी मेरो अंगालोमा थिइन र भन्थिन, ‘म आएपछि युरोपमा विएमडब्लु गाडी किन्ने है’, मैले हुन्छ भने तर मैले मनमनै सोचँे यही गाडी बेचेर नै तिमीलाई भेट्न आएको हो नी ।  उनी भन्थिन् ‘म आएपछि एउटा घर किन्ने है युरोपको शहरमा’ मैले हुन्छ भन्थे र फेरी मनमनै सोच्थे ‘त्यहाँको घर बेचेर नै कालीमाटीमा घर किनेको नी’ फेरी उनी भन्थिन ‘म आएपछि एउटा राम्रो विजनेस गर्ने है’ मैले हुन्छ भन्थे तर म मनमनै सोच्थे कि ‘युरोपमा इकोनोमिक क्राइसेसले टाट पल्टेर विजनेस छोडेर यो नगरपालिकाको काम गर्न थालेको नी बाटो बढार्ने’ । मैले उनलाई निरास बनाउन चाहिन किनकी यथार्थ सोचे जस्तो पनि हुँदैन ।  यी सवै अनुभवले म आज खारिइएको छु ।  उनको भविष्यको सपना र मेरो बर्तमान सपना फरक थिए, उनी हिउँमा खेल्न कुरा गर्थिन, तर चिसोले मेरा गोडा सुनिन्छ मैले भन्दिनथे ।

उनलाई युरोप बोलाउने अफिसियल प्रोसेस गरेर म सिधै काठमाडौबाट हिजो उडे र आज ब्रसेल्स एयरपोर्टबाट सिधैट्याक्सी लिएर घर आए र  सिगरेटको लामो सर्को तान्दै थचक्क बसे सोफामा । आज किन किन निन्द्रा नै परेन । गाडीको आवाज एकतर्फिरुपले कानमा बल्झिरह्यो । यसैत रात निस्तब्ध छ त्यही माथी गाडीको आवाजले म कोलाहलग्रस्त हुन्छ र झ्याल खोल्छु । झयालबाट देखिने दृष्यले मनलाई कता कता इष्र्या जगाइदिन्छ एक अधवैंशे पुरुष र महिला भित्तामा अडेस लगाउँदै अंगालमो बाधिएर चुम्बन गरेका । छि मलाई हेर्न मन लाग्दैन । अलि नजिकै नेपाली रेष्टुरेन्ट यति हाउस छ । वरीपरी केही नेपाली क्याफेहरु छन् । मलाई कतै जान मन लाग्दैन । 
म अरुणालाई सम्झन्छु र युरोपका ती दुःखका दिनहरु जतिबेला म सँग कतै हिड्ने कानुनी आधार थिएन । कहिलेकाँही वाटोमा पुलिसहरु देख्दा अर्कैतिर वाटो मोड्दथे मैले । कतै पुलिसले समाउला र अलिकति पैसा कमाउने मेरो बाटो बन्द होला म सोच्दथै यस्तै यस्तै । दुःख सुख गरेर घर पैसा पठाएँ तिनै पैसाहरु जोगाएर अरुणाले छोराहरु पढाउँदै गइन् । घरवारी खेत र काठमाडौंमा केही घडेरी र घर जोडिन् । 
मलाई अरुणाको हात सम्झन मन लाग्यो । हस्ताक्षर गर्ने बेला मैले उनको हात देखेको थिएँ त्यसोत उनको हात नदेखेको होइन यसपाली खै किन हो कुन्नी फरक देखेँ । हातहरु च्याउरिएका नङ्गकालो देखिएको । मैले बिबाह गर्दा उनका हात हिउँ जस्ता कोमल थिए,  नङ्ग टलक्क टल्केका चादीँ जस्ता थिए । उनी निउँरिदा उनको कपाल सेतो देखेँ त्यसो त मेरो पनि कपाल सेतै भइसकेको छ । मैले विवाह गर्दा उनको कपालबाट अर्कै सुगन्ध आउथ्यो मेहेन्दीको । उनको वक्षस्थल देखे लोत्रिएर झुण्डिएका उनका स्तन मैले बिबाह गर्दा उनका स्तन कुरै नगरौं म सोच्न पनि सक्दिन अहिले । 

म बिगत सम्झन्छु अरुणा र मेरो सम्बन्ध हामी एउटै स्कुल पढ्दा चिनजान भएको हो । मेरो घर स्कुल जाने बाटैमा थियो । उनको चुच्चे नाक अलि माथी उठ्न थालेका उनका सुन्तला गेडी, पछ्यौरा उठ्दा दुइटा साना चुच्चे देखिने । पोटिलो शरीर उनको मलाई हिजो जस्तै लाग्दथ्यो तर डेढ दशक भइसकेछ । मैले उनलाई भनेको याद छ । 

आम्न मेराँ घराँ आज कोइ छैनन् सबै मेलाँ गाँछन्
उनले भनिन ‘आम्दिन मत’
‘के खान्चेउ भनत’, के दिन्चेउ तनी’
‘एकथोक दिम्लानी’ ऊ आई मेरो घर, मैले सोधेँ ‘खरोभा छर, ऊ बोलिन, मैले अलि नजिक आऊन भनेँ उनी मानिनन् मैले ‘के लाई नआम्न परोँ’ मैल भने र हात समातेँ । यसरी गाउँमा हाम्रो सम्बन्ध बिस्तार हुँदै अगाडी बढेको थियो र हामी पछि बिबाह गरेका थियौँ । 
भित्तामा उनको र मेरो विवाहको तस्विर रहेछ हेरेँ एकतमासले मनमनै सोचेँ सबै जग्गा जमिन र घर तिमीले नै त जोडेको किन मैले एउटा घर मात्रै दिएँ होला मनमा अनेक कुरा मडारिरह्यो । नाडीकोे घडीले १ बजाइसकेछ । मोबाइलमा मेसेज आएको रहेछ श्रीजिताको ‘तपाईलाई गुडनाइन नभनी म कसरी सुत्न सक्छु र’ मेसेज हेरेँ अव चार घण्टापछि फेरी काममा जाने समय हुन्छ । एक गिलास पानी लिएर म बेडतिर आउँछु । फेरी अर्को मेसेज टिङ्ग बज्छ मोवाइलमा म खोलेर हेर्छु मेसेज मेरो जेठो छोराको रहेछ । ‘बाबा ममी त आज इजराइल जानु हुने भो पैसा कमाउन’ मनमा ठुलो ढ्याग्रो ठोक्यो र बेडमा पल्टिए ।
    
नोट : स ब्लगका कथा, लेख र कविताहरु  बिना अनुमति कपि गरिएको जानकारीमा आए साइवर कानुन अनुसार उजुरी गरी कारवाही अगाडि बढाइनेछ । लेखक


No comments:

Post a Comment