w

twitter facebook google plus linkedin rss feed email

Monday, May 30, 2016

कथा: भिन्नता,

- लेखक (महेन्द्र पौडेल)
होटलको गेटबाट मोटरसाइकल दायाँबायाँ गर्दै अगाडि बढ्यो। मोटरसाइकल पछाडि बसेर ऊ हुइँकियो। उनी मोटरसाइकलाई नियाल्दैआँसु पुछिन् र फनक्क फर्किइन् कार्यक्रमतिर। बाहिरी सडकमा केही तीनपाँग्रे सफा टेम्पो र रेक्साका ताँतीहरु आ–आफ्नै धुनमा हर्न बजाउँदै तछाडमछाड गर्दैथिए। सडक व्यस्त देखिन्थ्यो। सडकमा हुइँकिएका गाडी उनका छातीलाई थिचेर हिँडेजस्तो भान हुन थाल्यो। निस्सासिएर चक्कर लागेजस्तो।  अँध्यारो।
हुन त केही घण्टाअघि उनी काठमाडौंबाट महिला अधिकारसम्बन्धी एउटा गोष्ठीमा भाग लिन चितवन जाने बसमा चढेकी हुन्। समयक्रममा उनको ब्यस्तता बढ्ने क्रम जारी नै थियो। मनव अधिकारसम्बन्धी बिषयमा विदेशबाट ‘मास्टर्स’ सकेर फर्केदेखि उनको ब्यस्तता बढ्न थालेको हो। 
बसको झ्यालतिरको सिटमा एउटा उमेरले तीस कटेजस्तो देखिने अधवैंसे लोग्नेमान्छे बसिरहेको थियो। कानमा मोवाइलको एयरफोन लगाएर ऊ आफ्नै सुरमा सायद नारायणगोपालको गीतमा मस्त थियो। आडैको सिट खाली भएकाले उनी त्यस सिटमा बस्न पुगिन्।
 आजभोलि काठमाडौंदेखि चितवनसम्म ठूला बस कमै चल्छन्। सबै यात्रीका यात्रा माइक्रोबसबाटै हुन्छ। उनले जानेर नै ठूलो बसबाट चितवन जाने निर्णय गरिन् ताकि आनन्दले सिटमा सुतेर यात्रा गर्न सकियोस्।  तर आज किन हो कुन्नि बसमा प्रत्येक सिटभर नै यात्रु थिए। त्यै एउटा सिटमात्र खाली थियो जहाँ उक्त अधवैंसे पुरुष बसिरहेको थियो। उनले मसिनो स्वरमा बस्ने अनुमति लिइन्। तर त्यो अधवैसेले नसुनेझैं गरेपछि ऊ जितेरै बस्न पुगिन्।   बस कलंकीबाट गुड्यो। थानकोटनेर पुगेपछि कण्डक्टरले उनको टिकट चेक ग¥यो। आडमा बसेको उक्त लोग्नेमान्छेको टिकट चेक नगरेपछि उनलाई लाग्यो, उसको पहिल्यै चेक भैसकेको हुनुपर्दछ। उनले आफ्नो टिकट देखाइन्, नारायणगढसम्मको। थानकोटबाट बस ओरालो लाग्दैगयो। चैतमासको समय, डाँडापाखा उराठिला थिए।

सिटलाई अलि फोल्डिङ्ग बनाएर उनले सुत्ने विचार गरिन्। यात्रामा झ्याप्प निदाउने बानी जो थियो, त्यही निदाउने अभिप्रायले बसको यात्रा गरेकी थिइन्। नत्र त माइक्रोबस थिदैंथियो। पृथ्वी राजमार्गको यात्रा खाल्टाखुल्टी भएपछि बस नउफ्रने कुरै भएन। अधवैंसेले आफ्नो हाते ब्याग खोज्न थाल्यो। उसले यताउता छाम्यो। भेटेन। सायद बसको उफ्राइले कतै खसेको हुनुपर्दछ, मनमनले सोच्यो उसले।
आफ्नो देब्रेतिर हात लग्यो। हातमा एक्कासी बाफिलो, कमलो दुइटा टाकुराजस्ता थुम्का परेका र ती थुम्कालाई आधाजस्तो कपडाले ढाकेको उसको हातले अनुभव ग¥यो। अर्थात् छाम्दाछाम्दै उसको हात उनको छातीनेर संवेदनशील अंगमा पुगेर अडियो। निन्द्राबाट ब्युझिइन्। ‘यात्रामा एकल महिला देखेपछि पुरुषहरु मौकाको फाइदा उठाउँछन् भन्थे साथीहरुले हो रैछ। उनले मनमनै सोचिन्। मनमा एकैचोटी आँधी उर्लियो। मुटु भत्भती पोल्यो। यसरी सहनु पनि मेरो लाचारी हो। महिला हकअधिकारको अपमान हो। कानुनीरुपले आशयकरणीको हो। उनले उत्तिखेरै कसेर उसको गालामा थप्पड लगाइन्। तथानाम गाली गरिन्। उक्त अधवैंसे चुपचाप उनको थप्पडको कुनै प्रतिकार नगरी आफ्नो टाउको र अनुहार झ्यालतिर दौडायो। मानौ ऊ बाहिरका दृश्य देखिरहेको छ।
उनलाई लाग्यो अब यो सिटमा बसिरहनु उचित छैन। गाडी नौबीसेनेर एकछिन रोकिवरी अगाडि बढिसकेको थियो। मलेखुनेर पुगेपछि उनको अघिल्तिरको सिटका मान्छे झरे। उनी अगाडिको सिटमा बस्न पुगिन्। ‘कस्तो ग्वाँच नकच्चरो रहेछ, कुनै प्रतिक्रिया दिन्न, कुनै अफसोच छैन उसलाई।
यता उक्त अधवैंसे आफ्नै धुनमा मस्त थियो। तर त्यसभित्रको पीडा असह्य भइरहेको थियो। उसका काला चश्माभित्र आँसुका भेल बगिरहेका थिए। उसले सोच्यो भगवान् योभन्दा बढी पीडा नदेऊ। मैले एक नारीलाई अपमान कहाँ गरेको छु र! नचाहँदा नचाहँदै मेरा हात उनको संवेदनशील अंगमा पुग्यो त मेरो के दोष? दोष यिनै हातका हुन्। उसले नदेखिने आफ्ना हातका रेखा हेर्‍यो। अनि भाग्यलाई धिक्कार्यो। आफ्नो परिवेशलाई धिक्कार्यो। भगवानलाई धिक्कार्यो। प्रकृतिलाई धिक्कार्यो। हुन त भाग्य भन्ने कुरा पूर्वनिर्धारित पनि हुन्न। भाग्य कुनै चमत्कार पनि होइन, केवल हातले भाग्यको निर्धारण गर्दछ उसले नबुझेको होइन।
उनी अघिल्लो सिटमा बसेर बाहिरका दृष्य नियाल्नमै व्यस्त थिइन्। बसको सिसा खोल्न चाहिन् र पछाडि धकेलिन्। अधवैंसे पुरुषको टाउकोमा सिसाले लाग्यो। उसले फेरि धिक्कार्यो, आफ्नो भाग्यलाई। कालो चस्मा खोलेर आँसु पुछ्यो। कति पीडा दिन्छौं भगवान्? आफ्नो अनगिन्ती शब्दले भगवान्प्रति गुनासो पोख्यो। मानौँ सबै दोष भगवान्को हो। यता ती महिला सोच्दैछिन् ‘यस्ता पुरुष यत्रो मानिसअगाडि त महिलाको इज्जतमा हात हाल्छ भने ऊ सुनसान ठाउँमा एक्लो महिला पाए के गर्ला? चिथोर्ला, कोपर्ला? आफ्ना यौन तृष्णा मेट्ला। उस्तै परे मारेर फालिदेला। उसो त आजभोलि दिनानुदिन बलात्कार, हत्याका समाचार सुन्न र पढ्न पाइन्छ। यस्तै कुदृष्टि, कुपुत्रका कारण यस्ता घटना हुने त हो नि। उनका मनमा अनेक कुरा खेले ।
काठमाडौंका सार्वजनिक बसमा जब भीडभाड हुन्छ तब पुरुषले महिलाका संवेदनशील अंगमा छुने अश्लिल हर्कत गर्ने कुरा सार्वजनिक बहसका विषय बनिरहेका छन्। महिलासम्बन्धी कैयौं गोष्ठीमा भाग लिँदा साथीहरुले पनि यस्तै गुनासा गर्थे । आज आफैंले भोग्नुपर्दा। उफ!
रिसको पारो नतातेको होइन उनलाई। ‘फेरि यी विषयलाई यहाँ उठाएँ भने यो बसमा सबै पुरुष छन्। म एउटी महिलाको के कुरा सुन्थे र?’ उल्टै मलाई आरोप लगाएर बेइज्जत गर्लान्। नकच्चरी आइमाई भन्लान् भनी चुपचाप सहिन्। फेरि अर्को मनले भन्यो, सहनु पनि अन्याय हो। 
जे होस्, चितवनको गोष्ठीमा दिदीबहिनीबीच यी कुरा पनि सेयर गर्नुपर्ला। मनलाई सान्त्वना दिइन्। महिला जहाँ भए पनि एक्लै भए पनि प्रतिवाद गर्नुपर्दछ भन्ने आवाज उठाउँला। आफूले नसके पनि अरुलाई हौसला दिनु त पर्‍यो।  सूर्य आफू जलेर अरुलाई उज्यालो दिन्छ। म सूर्य त होइन्। तर सूर्यजस्तै भइदिने प्रयास गरे के फरक पर्दछ र? उनले यस्तै सोचिन्।
बस घ्याच्याक्क कुरिनटारमा रोक्यो । केही यात्रुहरु चढे । एक अधवैंसे महिला पनि यात्रुसँगै चढिन् र त्यही खालीसिटमा वस्न पुगिन् । यसपटकभने उक्त अधवैंसे पुरुषले थाहा पायो सिटमा कोही बस्दैछ भनेर । एकछिनको मौनतापछि ती महिलाले उक्त अधबैंसे पुरुषलालाई सोधिन कति बज्यो होला?
अब भने उसको मन दोब्रियो। त्यो सोधाइ नै उसका लागि किलामाथि किला भए। छातीमा सुई रोपेजस्तो भयो। देखिने चोट भन्दा नदेखिने चोट अध्यधिक हुँदोरहेछ। यस पटकको सोधाइले उसको छाती चिरेर कलेजोलाई छियाछिया पारिसकेको थियो। त्यो अधवैंसेले सोच्यो, हे भगवान् कुन जुनीको पाप दियौ? किन मैमाथि सुइ रोप्छन् मान्छेहरुले? उसको मौनता देखेर सँगै बसेकी सिटकी महिलाले दोस्रोपटक सोध्ने आँट गरिनन्। अधवैंसेको मनभित्र चलेको हुरी र आँधीको सुनामी थामिनसक्नु भइसकेको थियो। अनुहारभरि चिडचिडाहट पसिनाले ऊ निथ्रुक्क भिजिसकेको थियो। मानौँ ऊ मरुभूमिको यात्रामा छ जहाँ प्रचण्ड गर्मीले ऊ भिजेको होस्। उसभित्रको पीडा अब ईश्वरलाई पनि थाहा छैन। यसपटक ऊ रुन चाहेन। चिच्याउन चाह्यो।
बस नारायणगढको पुलचोकनेर रोकियो। बसका स्टाफले यात्रुलाई सूचित गरे, खाना नवलपरासीको दाउन्नेमा खाइने छ। उनलाई कार्यक्रममा पुग्न हतार थियो। पुल्चोकमा उत्रेर उनले रिक्सा समाइन्। सिधै भरतपुर उकालोमा रहेको भरतपुर उपमहानगरपालिकामा पुगिन् जहाँ उनका सहकर्मी उनलाई कुरिरहेका थिए। मन्चमा उनलाई आसनग्रहणका लागि बोलाइयो। कार्यक्रमको सुरुवात गरियो। पालैपालो क्रमशः वक्ताहरुले बोल्नेक्रम चलिरहेको थियो। उनलाई पनि बोल्नेक्रममा माइक दिइयो।
उनले महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र पारित भएका महासन्धीका धाराबारे बोल्दै गइन्। महिलासम्बन्धी नेपालको मुलुकी ऐन र नारीले भोग्नुपरेका सार्वजनिक यातायात र यात्राका कठिनाइका विषयमा धाराप्रवाह बोलेर सकेपछि उनी ट्वाइलेट छिरिन्। त्यसपछि पालो थियो एक अधवैंसेको। मन्चमा उक्लन नपाउँदै आफ्नो बोल्ने पालो आएको र ढिलो भएर कार्यक्रममा उपस्थिति जनाउन परेकामा क्षमा माग्दै आफना भनाइहरु राख्न थाल्यो।
भनाइ राख्नेक्रममा उसले भोगेको आजको यात्राको घटना प्रासंगिक भएकाले वर्णन गर्न थाल्यो। यात्रामा एउटी महिलाबाट आफू पीडित भएको घटना बतायो। उक्त महिलाले उसमाथि गरेका हातपातका विषय जब बोल्न थाल्यो, आसन ग्रहण गरेर बसेकी ती महिलाका कान ठाडा भए। ऊ भने बोल्दै गयो।
अन्तमा उसले भन्यो, ‘कुनै पनि अधिकार मानवअधिकारभन्दा ठूलो हुँदैन। चाहे महिलाअधिकार होस् वा अपाङ्गता, मानवअधिकारको जबसम्म सम्मान हुँदैन तबसम्म कुनैपनि अधिकारको सम्मानको औचित्य हुँदैन। त्यो केवल देखावटी बनावटी मात्र हुन्छ भन्दै आफ्ना दुई शब्द यही टुंग्याउन अनुमति माग्यो।
दोबारिरहेको स्टीकलाई खुल्ला बनायो। साथमा रहेको एकजना मानिसको काँधमा आफ्नो हात राख्दै ऊ बाहिरी गेटसम्म पुग्यो। कार्यक्रम सन्चालकले भने, ‘भर्खरै मात्र आफना दुई शब्द भनाइ राख्ने ब्यक्तित्व हुनुहुन्थो चितवन दृष्टिविहिन समाजका अध्यक्ष। जो जन्मजात दृष्टिविहिन हुनुहुन्छ। यसैगरी आफ्ना दुई शब्द भनाइ राख्न.... उनले भन्दै गए र बोलाउँदै गए। यसैगरी कार्यक्रम चलिरहेको थियो। उनी आसनग्रहणको सोफाबाट उठेर गेटतिर दौडिन्, त्यतिबेला ऊ मोटरसाइकलको पछाडि बसेर हुइँकिइसकेको थियो।

नोट : यस ब्लगका कथा, लेख र कविताहरु कपि गरिएको जानकारीमा आए साइवर कानुन अनुसार उजुरी गरी कारवाही अगाडि बढाइनेछ । लेखक

No comments:

Post a Comment